विद्या भण्डारीको निर्णय कल्पनाबाहिरको भयो : ओली

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएका छन्। शनिबार साँझ बालुवाटारमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँगको बैठकमा ओलीले पार्टी एकतामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै भण्डारीको निर्णय “कल्पनाबाहिरको” भएको बताएका हुन्।

तीन घण्टा लामो छलफलमा ओलीले भने, “महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनुभयो, त्यो हामीले कल्पना पनि गरेका थिएनौं।” उनले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिक रहनुपर्ने पदाधिकारीले पार्टी सदस्यताको विषयलाई लिएर उठाएको बखेडाले उनको राजनीतिक कद आफैं घटाएको टिप्पणी गरे।

ओलीले पूर्वराष्ट्रपतिले पार्टी सदस्यता नवीकरणमार्फत एमालेको नेतृत्वमा प्रवेश गर्ने तयारी देखाएको संकेत गर्दै, त्यसले पार्टीलाई अप्ठ्यारोमा पारेको बताएका थिए। उनले भने, “देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले अध्यक्ष पदमा आँखा गाडेकै कारण हामी केन्द्रीय निर्णयमा पुग्न बाध्य भयौं।”

बैठकमा ओलीले पार्टीभित्र देखा परेको अस्थिरता सानो हावाको झोक्कामात्र भएको उल्लेख गरे। “एमालेजस्तो पार्टीले ठूलाठूला आँधीबेहरीको सामना गरेर यो स्थान हासिल गरेको हो,” उनले भने, “अहिलेको अवस्था सामान्य रूपमा समाधान हुनसक्छ। तपाईंहरू आ–आफ्नो जिम्मेवारीमा एकताबद्ध भएर लाग्नुस्।”

ओलीले पछिल्लो समय एमाले र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको भन्दै, त्यसलाई चिर्न कार्यकर्ताले अझ बढी जिम्मेवारीपूर्वक पार्टी निर्माणमा लाग्नुपर्ने बताए।

बैठकमा ओलीले कर्णाली प्रदेशका सबै १० जिल्ला र स्थानीय तहमा एमालेलाई पहिलो शक्ति बनाउने लक्ष्यसहित अगाडि बढ्न निर्देशन दिए। “अबको ध्यान ०८४ मा जनादेश प्राप्त गर्ने पहिलो शक्ति कसरी बन्ने भन्नेमा केन्द्रित हुनुपर्छ,” उनले भने।

बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीका अनुसार, बैठकमा प्रदेशको संगठन सुदृढीकरण र समृद्ध कर्णाली निर्माणका विषयमा नेताहरूले अध्यक्ष ओलीसमक्ष विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया