शेखर कोइरालाद्वारा निकट सांसदहरूको आकस्मिक बैठक, राजनीतिक सक्रियता तीव्र

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट सांसदहरूसँग आकस्मिक बैठक गरेका छन्। आइतबार दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बैठक बसिरहेको स्रोतले जनाएको छ।

संस्थापन इतर समुहका एक नेताका अनुसार, कोइरालाले आन्तरिक राजनीतिक समन्वय र पछिल्लो शक्ति सन्तुलनबारे छलफल गर्न सांसदहरूलाई बैठकमा बोलाएका हुन्। उक्त बैठक हालसमेत जारी रहेको जनाइएको छ।

पछिल्लो समय डा. कोइरालाले पार्टीभित्र मात्र होइन, अन्य राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि सम्पर्क र भेटघाट सक्रिय रूपमा अघि बढाइरहेका छन्। केही दिनअघि उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निजी निवासमै भेटघाट गरेका थिए।

उनका निकट नेताहरूका अनुसार डा. कोइराला अन्य दलका प्रभावशाली नेतृत्वसँग पनि निरन्तर संवादमा रहेका छन्। यी गतिविधिहरूले कांग्रेसभित्रको आन्तरिक गुटगत राजनीति र आगामी सम्भावित सत्ता समीकरणप्रति संकेत गरिरहेको विश्लेषण गरिँदैछ।

तपाईको प्रतिक्रिया