आज च्यासलमा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार अपराह्न ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता हुने भएको छ।

पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार, भेटवार्ता पार्टी कार्यालयमै हुने पक्का भएको हो। उनका अनुसार, प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आजको भेट तय भइसकेको छ।

यद्यपि, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने अध्यक्ष ओली र भण्डारीबीचको भेटवार्ताबारे औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि एमालेमा उनको सदस्यता अझै नवीकरण भइसकेको छैन। पोलिटब्युरोको चौथो बैठकमा अध्यक्ष ओलीले भण्डारीको पार्टी सदस्यता हाल ‘पेन्डिङ’ अवस्थामा रहेको जानकारी दिएका थिए।

पार्टीको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा हुन लागेको यो भेटवार्तामा भण्डारीको भूमिकासम्बन्धी विषयमा छलफल हुने अनुमान गरिएको छ। अध्यक्ष ओलीले पनि यस विषयमा पार्टीभित्र छलफल आवश्यक रहेको बताएका थिए।

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक सोमबारका लागि तय गरिएको छ।

तपाईको प्रतिक्रिया