मुलुकको शान्ति सुरक्षा सन्तोषजनक अवस्थामा छ : गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था सन्तोषजनक रहेको बताएका छन्।

शुक्रबार बसेको संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री लेखकले गृह मन्त्रालय शान्ति सुरक्षाको सुनिश्चितता र नागरिकको जिउधनको सुरक्षामा प्रतिवद्ध रहेको बताए।

उनले भने, “अपराध नियन्त्रण, अनुसन्धान र दोषीलाई कानुनबमोजिम कारबाही गर्न गृह प्रशासन निरन्तर सक्रिय छ।”

गृहमन्त्री लेखकले आपराधिक घटनाहरूमा संलग्न भई फरार रहेका व्यक्तिहरूको पक्राउ समेत भैरहेको जानकारी दिए। उनले लागुऔषधको नियन्त्रण, न्युनिकरण र निषेधका लागि पनि सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

सडक दुर्घटनाको बढ्दो दरप्रति चिन्ता व्यक्त गर्दै गृहमन्त्रीले त्यसको नियन्त्रण पनि गृह मन्त्रालयको प्रमुख प्राथमिकता भएको बताए।

तपाईको प्रतिक्रिया