२०४६ पछिका सबै नेताको सम्पत्ति छानबिन गर : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालपछि सत्ता र जिम्मेवारी सम्हालेका उच्च पदस्थ नेता तथा सरकारी कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ।

शुक्रबार राप्रपाका नेताहरूले विभाग र आयोगमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै विगत तीन दशकभन्दा बढी समयदेखि भएका सम्पत्ति संकलनका स्रोत, भ्रष्टाचारका प्रकरण र त्यसमा संलग्न व्यक्तिहरूको विस्तृत छानबिन गरी कारबाही गर्न आग्रह गरेका हुन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार संघ, प्रदेश र स्थानीय तह सबैमा भ्रष्टाचार मौलाउँदै गएको उल्लेख गर्दै पार्टीले निष्पक्ष छानबिनको माग गरेको हो।

‘आजको अवस्था यस्तो छ जहाँ भ्रष्टाचार कहाँ छ भन्ने खोज्नुपर्दैन, बरु कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति बनेको छ,’ राप्रपाले अख्तियारलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

राप्रपाले सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारविरुद्धको अभियानलाई संस्थागत रूपमा अगाडि बढाउनसमेत आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया