प्रधानमन्त्रीको स्पेन भ्रमणबारे भ्रामक प्रचार नगर्न परराष्ट्रको आग्रह

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसँग सम्बन्धित केही समाचारप्रति आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले भ्रामक र आधारहीन सामग्रीमा विश्वास नगर्न आग्रह गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्पेनको सेभिया सहरमा आयोजित ‘विकासका लागि वित्त’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका सम्बन्धमा सार्वजनिक भएका कतिपय विवरण तथ्यहीन भएको स्पष्ट पारेको हो।

विज्ञप्तिमा भनिएको छ, “द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको प्रतिनिधित्व आवश्यक परेको अवस्थामा अन्तर्राष्ट्रिय प्रचलन, सरकारको दायित्व, राष्ट्रहितको प्रवर्द्धन तथा मितव्ययिताको आधारमा प्रतिनिधिमण्डल गठन सम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट हुने गर्दछ।”

मन्त्रालयले ३० जुनदेखि ४ जुलाई २०२५ सम्म आयोजित सम्मेलनमा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भई स्वदेश फर्किसकेको जानकारी दिएको छ।

प्रधानमन्त्रीको स्पेन भ्रमणप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा प्रश्न उठाएको थियो। रास्वपाकी सांसद सोविता गौतमले मंगलबार संसदमा केही व्यक्ति भ्रमणपछि स्पेनमै रोकिएको आशंका व्यक्त गरेकी थिइन्। तर बुधबारको बैठकमा उनले आफ्नो अभिव्यक्ति सच्याइन्।

गौतमको टिप्पणीको जवाफमा गृहमन्त्री रमेश लेखकले रास्वपा अध्यक्ष रवि लामिछाने भिजिट भिषामा अमेरिका गएका थिए कि होइनन् भन्ने प्रतिप्रश्न गरेका थिए।

सरकारले भ्रमणसँग जोडिएका सबै आशंकालाई खण्डन गर्दै अनावश्यक भ्रम सिर्जना नगर्न र सत्यतथ्यमा आधारित सूचना मात्र ग्रहण गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया