लुम्बिनी कांग्रेस महामन्त्री विक्रम खनाल एक वर्षका लागि पार्टीबाट निस्कासित

काठमाडौं, – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टी सदस्यताबाट एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

अनुशासन समितिका संयोजक आनंदप्रसाद ढुंगानाको नेतृत्वमा असार १७ गते बसेको बैठकको निर्णयअनुसार खनालमाथि अनुशासन उल्लङ्घनको आरोपमा कारबाही गरिएको हो। समितिले उक्त निर्णयको जानकारी लुम्बिनी कांग्रेस कार्यसमितिमा आज पठाएको छ।

२०७९ सालको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी क्षेत्रका कांग्रेसका उम्मेदवारहरूलाई खनालले सहयोग नगरेको आरोपमा उजुरी परेपछि उनलाई स्पष्टीकरण मागिएको थियो। तर, खनालको जवाफ चित्तबुझ्दो नठहरिएपछि कारबाही गर्ने निर्णय लिइएको हो।

नवलपरासी क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार विनोद चौधरी विजयी भए पनि क्षेत्र नं. २ का उम्मेदवार देवेन्द्रराज कँडेल पराजित भएका थिए। खनालले दुबै उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको थियो।

खनाल कांग्रेसभित्रको संस्थापनइतर समूहसँग आबद्ध मानिन्छन्।

यस विषयमा हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समेत बहस भएको थियो। केही सदस्यहरूले अनुशासन समितिको निष्पक्षतामाथि प्रश्न उठाएका थिए। केन्द्रीय सदस्य शेखर कोइरालाले अनुशासन समितिमा निष्पक्ष र अनुभवी व्यक्तिहरू राख्नुपर्ने धारणा राखेका थिए भने चौधरी र कँडेलले भने खनाललाई बचाउन कोइरालाले यस्तो भनाइ दिएको आरोप लगाएका थिए।

तपाईको प्रतिक्रिया