आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशमाथि महाभियोग लागाउनुपर्ने — सांसद साहको माग

काठमाडौं । नेकपा (एमाले)का सांसद किरणकुमार साहले रौतहटमा जिउँदै मानिसहरू जलाएर मारिएको भनिएको घटनामा संलग्न भनी जिल्ला अदालतबाट दोषी ठहर भइसकेका सांसद आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरका न्यायाधीशहरूलाई महाभियोग लगाउनुपर्ने माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले जन्मकैदको फैसला उल्ट्याउने उच्च अदालत जनकपुरका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनमाथि संसदमार्फत महाभियोग प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।

उनले भने, “यदी सरकार स्वतन्त्र र निष्पक्ष न्याय प्रणालीको पक्षमा छ भने, यो फैसला सुनाउने न्यायाधीशहरूविरुद्ध तत्काल महाभियोग प्रक्रिया अघि बढाउनुपर्छ। नत्र भने, गठबन्धन सरकारले आफताब आलमलाई राजनीतिक संरक्षणस्वरूप सफाइ दिएको भन्ने सन्देश जान सक्छ।”

साहले उच्च अदालतको फैसलालाई जनमानस र सञ्चारमाध्यमहरूले राजनीतिक पूर्वाग्रहको नतिजा भनेर व्याख्या गरिरहेको समेत बताए।

सांसद साहले राजनीतिक भागबन्डाका आधारमा न्यायाधीशहरूको नियुक्ति रोक्न पनि सरकारलाई आग्रह गरे।

यद्यपि नेपालको संविधान अनुसार उच्च अदालतका न्यायाधीशमाथि महाभियोग लगाउने प्रावधान छैन। संविधानको व्यवस्था अनुसार महाभियोग प्रक्रिया केवल सर्वोच्च अदालतका न्यायाधीशका हकमा लागू हुन्छ।

तपाईको प्रतिक्रिया