भ्रातृसंस्थाहरूले अब महाधिवेशन गर्न सक्दैनन्, नयाँ समिति बनाउनुपर्छ : दीलेन्द्र बडू

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीलेन्द्रप्रसाद बडूले पार्टीका भ्रातृसंस्थाहरूले लामो समयसम्म महाधिवेशन गर्न नसकेको भन्दै अब ती समितिहरूबाट महाधिवेशन हुने सम्भावना नरहेको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठकमा शुक्रबार धारणा राख्दै बडूले भने, “निर्धारित समय नाघेर लामो समयसम्म महाधिवेशन गर्न नसक्ने भ्रातृ र भगिनी संस्थाहरूले अब सहजरूपमा अधिवेशन गरिहाल्छन् भन्ने ठोस आधार देखिँदैन।”

उनले पार्टी विधानअनुसार नयाँ समिति गठन गर्न र त्यसको कार्यकाल तोक्न सुझाव दिए। “उचित समय तोकेर विधानमा व्यवस्था भएको सङ्ख्यामा नयाँ समिति बनाऔं, र त्यो अवधि सकिएपछि स्वतः विघटन हुने स्पष्ट व्यवस्था गरौँ,” बडूले भने।

बडूले समयमै पार्टीले दिएको जिम्मेवारी पूरा नगर्ने समितिलाई फेरि नयाँ जिम्मेवारी दिनु अनुचित हुने जिकिर गरे। “लामो समयसम्म महाधिवेशन नगरेका समितिहरूले अब मात्रै गरिहाल्छन् भन्ने सोचमा पार्टी नरहोस्,” उनले थपे।

तपाईको प्रतिक्रिया