नेपाली बैंकलाई विदेशमा शाखा खोल्न दिनुपर्छ : विनोद चौधरी

काठमाडौँ, । नेपाली कांग्रेसका सांसद तथा उद्यमी विनोद चौधरीले नेपाली बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन्। उनले यो कुरा बिहीबार सिंहदरबारमा आयोजित प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा राखिएको **बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया)**माथिको दफावार छलफलका क्रममा उठाएका हुन्।

सांसद चौधरीले वर्तमान बाफिया विधेयकमा बैंकहरूलाई विदेशी भूमिमा शाखा खोल्न दिने प्रावधान नरहेको उल्लेख गर्दै, विधेयक पुनः लेखन गर्नुपर्ने धारणा राखे।
उनले भने, “बाफिया विधेयक दुई वर्षअघिको सन्दर्भमा बनाइएको हो, अहिलेको आर्थिक परिवेश फरक छ। नेपालका बैंकलाई अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने अनुमति दिनुपर्छ। मलेसिया, अस्ट्रेलिया जस्ता मुलुकमा शाखा खोल्न सक्ने व्यवस्था गरिनुपर्छ।”

उनको भनाइमा, विदेशमा रहेका नेपालीको पुँजी संकलन गर्न नेपाली बैंकले भूमिका खेल्न पाउनुपर्छ।
“नेपालीको पुँजी किन विदेशी बैंकमा जानुपर्ने? नेपाली बैंकले किन संकलन गर्न नपाउने?” चौधरीले प्रश्न गरे।

त्यसैगरी, उनले हालको आर्थिक अवस्था सुस्त भएको उल्लेख गर्दै बैंकमा पैसा रहेको भए पनि त्यसको उपयुक्त लगानी नहुँदा समस्या देखिएको बताए।
उनले भने, “बैंकमा पैसा राख्नेलाई मात्र दोष दिएर हुँदैन, उद्योगी र लगानीकर्ताले आवश्यक वातावरण पाएपछि मात्र लगानी गर्छन्। अहिले त्यस्तो आत्मविश्वासको अभाव छ।”

सांसद चौधरीले बैंक तथा वित्तीय क्षेत्रमा आधुनिक र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यअनुकूल सुधार गर्न सुझाव दिँदै बाफिया विधेयकलाई फिर्ता लिएर नयाँ ढंगले तयार पार्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया