युवाका आवाज नीति निर्माणमा अनिवार्य रूपमा समावेश हुनुपर्छ:उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको सिर्जनात्मकता र जोशलाई व्यवहारमा रूपान्तरण गर्न सबै पक्षबाट सहयोग आवश्यक रहेको बताएका छन्।

सोमबार राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवाका विचारलाई व्यावसायिक योजनामा परिणत गर्न सहजीकरण र जोखिम उठाउने हौसला बढाउनुपर्नेमा जोड दिए। उनले भने, “यस्ता काम सरकारले मात्र होइन, निजी क्षेत्र, शैक्षिक संस्था, वित्तीय निकाय र नागरिक समाजले संयुक्त रूपमा गर्नुपर्छ।”

युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक पुँजी र सीपको पहुँच सुनिश्चित गर्न अब ढिलाइ गर्न नहुने उनको भनाइ छ। साथै, व्यावसायिक योजनाको बजार पहुँच र ब्रान्डिङका लागि मार्गदर्शन दिनुपर्ने बताए। उनले युवाका आवाजलाई नीति निर्माण प्रक्रियामा प्रभावकारी रूपमा समावेश गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिए।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुलुकमा लगानी वातावरण त तयार भए पनि पुँजी प्रवाह हुन नसकेको बताउँदै युवाहरूले उपलब्ध अवसरलाई सदुपयोग गर्नुपर्ने बताए।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सीमित स्रोत साधनका कारण स्वदेशमै रोजगार सिर्जना गर्न नसकिँदा लाखौँ युवाहरू विदेश पलायन गर्न बाध्य भएको उल्लेख गरे। उनले युवाहरूलाई सीपमूलक शिक्षा प्रदान गरेर स्वदेशमै रोजगारीका अवसरहरू बढाउन आवश्यक रहेको बताए।

मन्त्री चौधरीले तीनै तहका सरकारले स्वदेशमै केही गर्न चाहने युवाहरूलाई प्राथमिकता दिनुपर्ने जोड पनि दिए।

तपाईको प्रतिक्रिया