सांसदहरूको आलोचनाप्रति मन्त्री मण्डलको प्रतिक्रिया : “मलाई नधम्क्याउनुहोस्”

विराटनगर, कोसी — कोसी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले प्रदेशसभा बैठकमा सांसदहरूले आफूलाई लक्षित गरी उठाएको आलोचनाप्रति कडा प्रतिक्रिया जनाएका छन्।

बुधबार बजेटमाथिको छलफलका क्रममा मन्त्री मण्डलले आफ्नो जिल्लामा बजेट केन्द्रित गरेको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए। जवाफमा मन्त्री मण्डलले आफू विगतमा पटक–पटक जेल भोगेको व्यक्ति भएको स्मरण गराउँदै, नधम्क्याउन चेतावनी दिए।

“कांग्रेसको खत्तम भनेर औँलो नदेखाउनुहोस्,” मन्त्री मण्डलले भने, “सानो बजेट लाँदैमा म खराब ठहरिन्छु भने, पहिलेका मन्त्रीहरूले बजेट कहाँ लगेका थिए?” उनले सभामा संयमित व्यवहार गर्न सांसदहरूलाई आग्रह गरे।

मण्डलका अनुसार प्रदेश सरकारको तर्फबाट दुई अर्ब ४० करोड रुपैयाँ र संघीय सरकारसमेत गरेर दुई अर्ब ९६ करोड रुपैयाँको बजेट मन्त्रालयतर्फ विनियोजन गरिएको छ।

“मलाई मात्र होइन, अरू मन्त्रीहरूलाई पनि धम्क्याउने प्रयास नगरियोस्,” उनले भने, “केही बजेट मेरो जिल्लामा जाँदैमा ठट्टा गर्नुपर्ने विषय होइन।”

उनले सुनसरी जिल्लामा नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्र जितेको उदाहरण दिँदै सांसदहरूसँग प्रश्न गरे, “तपाईंहरूले कति योगदान गर्नुभयो? कति जिताउनुभयो?”

तपाईको प्रतिक्रिया