‘कुलिङ पिरियड’ विवादले निजामती विधेयक रोकिएको होइन : मन्त्री गुप्ता

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ पिरियड’ को विवादका कारण निजामती सेवा विधेयक रोकिएको भन्ने भ्रम असत्य भएको स्पष्ट पारेका छन्।

सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल हुँदै गर्दा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुप्ताले सो विधेयक यही असार ३ गतेको संसद् कार्यसूचीबाट हटाइनुमा कार्यव्यस्तता मुख्य कारण रहेको बताए।

संसद्मा समय दिन नसकेको कारण कार्यसूचीबाट हटाइयो : मन्त्री गुप्ता

मन्त्री गुप्ताले भने, “मेरो मन्त्रालयको एउटा महत्वपूर्ण कार्यक्रम परेकाले संसद्लाई पूरा समय दिन सक्ने अवस्था थिएन। त्यसैले संसद्का सचेतकज्यूलाई जानकारी गराएर विधेयकको प्रक्रिया केही समयलाई स्थगित गरिएको हो।”

उनले थप स्पष्ट पारे, “विधेयक कुनै विवाद वा संशोधनको कारण होइन, कार्यतालिकाको कारण स्थगित गरिएको मात्र हो। विधेयकमा फुलस्टप र कमा समेत फेरिने छैन।”

विगत ९ वर्षदेखि अलपत्र परेको निजामती सेवा विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा छलफल भएर पारित भइसकेको स्मरण गराउँदै गुप्ताले यसमा सरोकारवाला सबै पक्षको प्रतिनिधित्व र मेहनत समेटिएको बताए।

उनले भने, “संघीयता कार्यान्वयनका लागि यो विधेयक अत्यन्तै आवश्यक छ, र छिट्टै यसको निकास हुने अपेक्षा गरिएको छ।”

तपाईको प्रतिक्रिया