निष्पक्षता कायम गर्न लोकसेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगले निष्पक्षता कायम राख्ने विषयमा जनविश्वास अत्यन्त प्रबल रहेको बताएका छन्। आयोगको हिरक जयन्तीको अवसरमा आज आयोजित कार्यक्रममा उनले योग्यता, निष्पक्षता र स्वच्छता कायम गर्दै निजामती सेवा, सुरक्षा निकाय लगायत विभिन्न संस्थामा पदपूर्ति गर्न आयोगले गरेको योगदानको प्रशंसा गरे।

प्रधानमन्त्री ओलीले भने, “नेपाल र नेपालीको आवश्यकता र चाहनाअनुसार आवश्यक जनशक्तिको छनोटका लागि आयोगले परीक्षा प्रणालीमा निरन्तर सुधार गर्दै आएको छ, जसले प्रविधिमैत्री र समयसापेक्ष प्रक्रिया प्रदान गरेको छ भन्ने थाहा पाउँदा मलाई खुशी लागेको छ।”

उनले थपे, “आयोगलाई थप स्रोतसाधन सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा समावेश सुझावहरूको कार्यान्वयनमा सम्बन्धित निकायहरूले उचित ध्यान दिनुपर्छ। सरकार पनि आवश्यक सहजीकरणका लागि सधैं तत्पर रहनेछ।”

प्रधानमन्त्री ओलीले आयोगले योग्यता, निष्पक्षता र स्वच्छता कायम गर्दै युवा पुस्तामा विश्वासको वातावरण सिर्जना गरी राष्ट्रसेवामा सबैलाई प्रेरित गर्ने निरन्तर भूमिका खेल्नेमा विश्वस्त रहेको व्यक्त गरे।

तपाईको प्रतिक्रिया