कांग्रेस-माओवादीको बैठकमा सदन खुलाउने ‘मध्यमार्गी उपाय’बारे छलफल

काठमाडौं । संसद खुलाउने विषयमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच सहमति नजिक पुगेको छ।

संघीय संसद भवनको शंकर हलमा दुई दलका शीर्ष नेताहरूबीच भएको छलफल सहमति नजिक पुगेको जानकारी नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दिएका छन्। उनका अनुसार संसद खुलाउने विषयमा लिखित सहमति गर्नका लागि छलफलहरू भइरहेको छन्।

“लिखित सहमतिको भाषा तयार गर्ने विषयमा छलफल भइरहेको छ। अझै निष्कर्षमा पुगेका छैनौं,” उनले सेतोपाटीसँग भने।

बैठकमा सहभागी एक नेताले पनि संसद खुलाउने मध्यमार्गी उपायबारे छलफल भएको बताएका छन्। उनका अनुसार, भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सक्काएपछि पुनः समिति बनाएर छानबिन गर्ने लिखित सहमति गर्ने पक्षमा छलफल मोडिएको छ।

हाल माओवादी केन्द्र गृहमन्त्रीको राजीनामाबाट पछि हटेर प्रकरणको छानबिनका लागि नयाँ आयोग गठन गर्न सहमत भइसकेको छ, भने राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रीको राजीनामामा अझै अडिग रहेको बताइएको छ।

दलहरूबीच अख्तियारको अनुसन्धानपछि अर्को आयोग वा अध्ययन समिति बनाउने लिखित प्रतिबद्धता भएमा मात्र संसद खुलाउन सकिने गरी छलफल भइरहेको बताइएको छ।

शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। त्यसपछि आइतबार विपक्षी दलहरूको बैठकमा उनले छानबिन समिति बनाउने विषयमा देउवा तयार नभएको जानकारी दिएका थिए।

विपक्षी बैठकपछि प्रचण्डले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूसँग शंकर हलमै छलफल गरेका छन्।

तपाईको प्रतिक्रिया