अहिलेको विषय रवि लामिछानेको मुद्दाजस्तो होइन : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले संसद् सञ्चालन गर्न माओवादी केन्द्रलाई आग्रह गरेका छन्। आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले संसद् चलाउने वा नचलाउने निर्णय नेकपा (माओवादी केन्द्र)कै हातमा रहेको बताए।

संसदीय प्रणालीमा आइसकेपछि नियमअनुसार संसद् सञ्चालन हुनु पर्ने उनको भनाइ छ। उनले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकोले राजीनामा मागेर संसद् अवरुद्ध गर्न आवश्यक नरहेको पनि बताए।

“संसद् अहिले अवरुद्ध छ। प्रतिपक्षीले अवरोध गरिरहेको छ। अब यो घडीमा माओवादीकै हातमा संसद् चलाउने वा नचलाउने निर्णय छ,” निधिले भने।

उनले अहिलेको विषय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा जस्तो नरहेको पनि स्पष्ट पारे। वर्तमान गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप नरहेको उनको दाबी छ।

“यो रास्वपाका नेताको जस्तो विषय होइन। रास्वपाका नेताले छानबिन हुँदै गर्दा आफैं बोलेका थिए। तर रवि लामिछानेको घटनामा ‘तपाईंमाथि यस्तो भनिएको छ, किन बोल्नुहुन्न?’ भन्ने तर्क यसमा लागु हुँदैन,” उनले थपे।

तपाईको प्रतिक्रिया