प्रधानमन्त्री ओलीको चेतावनी : गुटगत प्रवृत्ति त्याग्नुस्, नत्र एकीकृत समाजवादीको जस्तो हालत हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनेरास्ववियुका विद्यार्थी नेताहरूलाई गुटगत प्रवृत्ति त्याग्न कडा निर्देशन दिएका छन्। कीर्तिपुरमा जारी अनेरास्ववियुको महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले गुटको राजनीति पार्टीको विघटनतर्फ जान सक्ने चेतावनी दिए।

“सकेसम्म सबै मिलेर अघि बढ्नुस्,” प्रधानमन्त्री ओलीले भने, “यदि त्यो सम्भव छैन भने पनि मित्रवत् प्रतिस्पर्धा गर्नुस्। गुट बनाएर पार्टीको नाममा हिँड्ने होइन, व्यक्तिगत क्षमता र विचारमा भरोसा गर्नुस्। गुटप्रति मोह देखाउन थालियो भने पार्टीभन्दा गुट नै ठूलो देखिन थाल्छ। यस्तो प्रवृत्तिले नै नेकपा एकीकृत समाजवादीलाई आजको स्थितिमा पुर्‍यायो।”

ओलीले एकीकृत समाजवादीलाई ‘टर्च बालेर खोज्नुपर्ने हालतमा पुगेको’ भन्दै व्यंग्यसमेत गरे। “एकीकृत समाजवादीलाई त्यस्तो ठाउँमा पुर्‍याउने कारण गुटगत सोच हो,” उनले भने, “गल्तीबाट तुरुन्तै फर्कनुस्। एमालेमा म मेरो अनुहार वा व्यक्तित्व हेरेर अध्यक्ष बनेको होइन। आन्दोलन र योगदानको आधारमा बनिएको हो।

कार्यक्रमका क्रममा ओलीले पार्टीका वरिष्ठ नेता भीम रावलमाथि पनि टिप्पणी गरे। उनले रावलले कहिल्यै पार्टीको पक्षमा सकारात्मक धारणा नबोल्ने आरोप लगाए। “भीम रावल पदविना एकछिन बस्न सक्दैनन्। आफूलाई एमालेको बताउँछन्, तर बाहिरबाट पार्टीमाथि आरोप लगाउने र आक्रमण गर्ने काम गर्छन्,” ओलीले भने, “यस्तो शैलीले पार्टीमा सकारात्मक योगदान पुग्दैन।”

प्रधानमन्त्री ओलीको सम्बोधनले अनेरास्ववियुमा देखा परिरहेका गुटगत गतिविधिहरूप्रति पार्टी नेतृत्वको गम्भीर चिन्ता झल्किएको छ।

तपाईको प्रतिक्रिया