कसैसँग एक पैसा पनि लिएको छैन, कुनै मन्त्रीलाई दबाब पनि दिएको छैन: माधव नेपाल

रौतहट — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको भ्रष्टाचारको आरोपलाई बदनियतपूर्ण र राजनीतिक उत्पीडन भन्दै अस्वीकार गरेका छन्।

बिहीबार विभिन्न कार्यक्रममा भाग लिन गृह जिल्ला रौतहट पुगेका नेता नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेको र कानुनी प्रक्रिया सामना गर्न तयार रहेको बताएका छन्।

उनले सञ्चारकर्मीलाई भने, “भ्रष्टाचारका लागि मैले एक पैसा पनि लिएको छैन। कुनै अनुचित लाभ उठाएको छैन। म खुला चुनौती दिन्छु कि मैले राष्ट्रलाई नोक्सान पुर्‍याउने कुनै काम गरेको छैन। मैले आजसम्म कुनै मन्त्रीलाई दबाब वा निर्देशन दिएको पनि छैन। स्वामी रामदेवजस्ता व्यक्तिको संस्थामा अनुचित काम हुने भन्ने कुराको कल्पना पनि गरेको छैन। विधि र कानुनले सबै कुरा हेर्नेछन्। मुख्यसचिवले पनि सबै कुरा राम्रोसंग हेर्नुपर्ने हुन्छ।”

अध्यक्ष नेपालले भने कि पतञ्जलीबाट आम नेपालीले लाभ उठाउन पाउन भनेर आफूले जग्गा उपलब्ध गराएको र आफूविरुद्ध प्रारम्भदेखि नै राजनीतिक रूपमा जीवन समाप्त पार्ने उद्देश्यले बदनियतपूर्ण खेल सुरु गरिएको बताए। साथै उनले सरकारकै निर्देशनमा मुद्दा दायर गरिएको आरोप पनि लगाए।

नेता नेपालले अहिलेसम्म के के भएको छ भनेर आफूलाई स्पष्ट जानकारी नहुँदा राजधानी काठमाडौं गएर कानुनी सल्लाह लिने योजना रहेको जानकारी दिएका छन्। सिमरा विमानस्थलबाट साँझ ४:३० बजे काठमाडौं उड्ने तय भएको छ, उनका स्वकीय सचिव लक्ष्मण रेग्मीले बताएका छन्।

तपाईको प्रतिक्रिया