सदनमा उभिएर ‘राजा चाहियो’ भन्न मिल्दैन : कांग्रेस नेता उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभा जस्तो संवैधानिक निकायभित्र उभिएर “राजा चाहियो” भन्ने अभिव्यक्ति दिनु असंवैधानिक र अनुपयुक्त भएको बताएका छन्।

आइतबार बसेको कोसी प्रदेशसभाको बैठकमा बोल्दै थापाले लोकतान्त्रिक प्रणालीलाई स्वीकार गरेर सदनमा आउने र त्यही सदनभित्रै संवैधानिक व्यवस्थाविरुद्ध बोल्नु स्वीकार्य नहुने धारणा राखे।
“संविधान मान्दै सदनमा आउनु, अनि त्यहीं उभिएर राजा चाहियो भन्नु व्यावहारिक र नैतिक रूपले गलत हो,” थापाले भने, “यदि त्यस्तो भन्नु छ भने बाहिर गएर भन्नुपर्छ। हामीले पनि इतिहासमा राजा हटाउन सडकमा संघर्ष गरेका थियौं।”

बजेटमा कांग्रेसको उपेक्षा भएको गुनासो

थापाले कोसी प्रदेशका पछिल्ला तीन बजेटमा नेपाली कांग्रेसका क्षेत्रीय सांसदहरूको माग र उपस्थिति उपेक्षित भएको गुनासो पोखे।
“गत वर्षको बजेट तीन निर्वाचन क्षेत्रमै सीमित रह्यो, बाँकी क्षेत्रलाई बेवास्ता गरियो,” उनले भने।
आगामी बजेट सबै सांसदको गरिमा, गौरव र प्रतिष्ठा जोगिने गरी आउने दाबी गर्दै उनले भने, “पहिलेजस्तो ५० लाख दिने भनिएको बजेटबाट पाँच रुपैयाँ पनि नदिने स्थिति अब दोहोरिँदैन।”

कांग्रेस–एमाले सहकार्यको पक्षमा थापा

नेता थापाले परिस्थितिको माग अनुसार कांग्रेस र एमालेबीच सहकार्य हुनु अस्वाभाविक नरहेको तर्क गरे।
“परिस्थितिले मिलायो भने मिल्नै नहुने भन्ने हुँदैन,” उनले स्पष्ट पारे, “राजनीति स्थायित्व र समावेशी अभ्यासको विषय हो, गठबन्धन पनि त्यसै अनुरूप निर्माण हुन्छ।”

तपाईको प्रतिक्रिया