हामीले कुरा गरेपछि हात हालाहाल रोकियो:प्रधानमन्त्री ओली

लुम्बिनी, वैशाख ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भारत र पाकिस्तानबीच देखिएको सैन्य तनाव आफूहरूले पहल गरेपछि रोकिएको दाबी गरेका छन्। बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित २५६९ औं मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्रहरूमध्ये हालै उत्पन्न भएको सैन्य झडपको अवस्था संयमतापूर्वक नियन्त्रणमा लिएको भन्दै भारत र पाकिस्तान दुवैलाई धन्यवाद ज्ञापन गरे। उनले भने, “झण्डैझण्डै केही दिन अगाडि हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो, तर त्यो स्थिति बढ्न पाएन। संयम अपनाएकामा उहाँहरूलाई धन्यवाद छ।”

उनले प्रारम्भदेखि नै नेपालले दुवै देशसँग तनाव विस्तार नहोस् भन्ने चाहना राखेको बताए। “हामीले सुरुदेखि नै हात हालाहालको स्थिति लडाइँमा परिणत नहोस् भन्ने कामना गर्‍यौँ। उहाँहरूसँग कुरा पनि गर्‍यौँ। उहाँहरूले पनि लडाइँमा नजाने प्रतिबद्धता जनाउनुभयो,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

उनले अझै पनि दुवै देशबीच केही आरोप–प्रत्यारोपको अवस्था रहेको उल्लेख गरे। साथै, विश्व शान्ति र मानव अस्तित्वका लागि बुद्धको शान्ति सन्देशलाई अझ व्यापक रूपमा फैलाउनुपर्ने आवश्यकतामा पनि उनले जोड दिए।

प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले क्षेत्रीय कूटनीतिक पहलमा नेपालको भूमिकाबारे नयाँ बहस सुरु हुने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया