५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको फैसला आज


काठमाडौं, जेठ २९ — विभिन्न संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीहरूको नियुक्तिविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ। यस विषयमा बहस सकिएकाले संवैधानिक इजलासले आज निर्णय सुनाउन लागेको हो।

उक्त रिट अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते दायर गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गरी उक्त नियुक्तिहरू गरेको थियो। सो क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरूमा ५२ जना पदाधिकारी नियुक्त गरिएको थियो।

रिट निवेदनमा संविधानको भावना विपरीत नियुक्ति गरिएको आरोप लगाउँदै ती नियुक्तिहरू बदर गर्न माग गरिएको छ। साथै, यस प्रकरणमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, मन्त्रिपरिषद्, संवैधानिक परिषद्, र संवैधानिक सचिवालयलाई विपक्षी बनाइएको छ।

यो मुद्दालाई २०८० सालमा अग्राधिकार प्रदान गरिएको थियो तर अघिल्लो समयमा पटक–पटक ‘हेर्न नभ्याइने सूची’मा परेको थियो। रिट दर्ता भएको करिब चार वर्षपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासले आज फैसला सुनाउन लागेको हो।

तपाईको प्रतिक्रिया