४ दिनपछि पूर्वयुवराज पारस शाह डिस्चार्ज

फाइल तस्बिर।

काठमाडौँ। ४ दिन अस्पतालमा भर्ना भएपछि पूर्वयुवराज पारस शाहलाई डिस्चार्ज गरिएको छ। हृदयघात भएपछि आइतबार उनलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

उनको स्वास्थ्य सामान्य भएको देखिएपछि बिहीबार बिहान उनलाई डिस्चार्ज गरिएको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले जानकारी दिनुभयो।

निवासमै हृदयघात भएपछि आइतबार साँझ पारस शाहलाई परिवारले नर्भिक अस्पतालमा लगेका थिए। सोही राति उनको मुटुमा स्टेन राखिएको र केही दिन चिकित्सकको विशेष निगरानीमा उपचार गरिएको थियो।

“अहिले उहाँको अवस्था सामान्य भएकोले डिस्चार्ज गरिएको छ,” मिश्राले भने। पारस शाहको उपचार डाक्टर यादव भट्टको नेतृत्वमा भएको थियो।

पारस शाहलाई हृदयघात भएको यो चौथो पटक हो। यसअघि, २०७५ सालको माघ महिनामा पनि उनलाई हृदयघात भएको थियो, र त्यतिबेला पनि नर्भिक अस्पतालमा उपचार गरिएको थियो। त्यस्तै, थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि उनलाई हृदयघात भएको थियो।

तपाईको प्रतिक्रिया