४५ लाखभन्दा बढी मूल्यको अवैध सुनसहित नागढुंगाबाट एकजना पक्राउ

काठमाडौं । काठमाडौं प्रवेशद्वार नागढुंगाबाट प्रहरीले ४५ लाखभन्दा बढी मूल्यको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारत पश्चिम बंगालका ३१ वर्षीय महादेव सामन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

सामन्त काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार थिए। प्रहरीले चेकजाँच गर्ने क्रममा उनीसँग लुकाइछिपाइ राखिएको २७४.८३ ग्राम अवैध सुन बरामद गरेको हो।

बरामद गरिएको सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ बराबर रहेको प्रारम्भिक अनुमान छ। उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

उक्त कार्यवाही प्रहरीले नागढुंगा प्रहरी प्रभाग र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीमार्फत गरेको हो।

तपाईको प्रतिक्रिया