कक्षा १२ परीक्षा अघि प्रश्नपत्र बाहिरिएको हल्ला झूठा भएको बोर्डको दाबी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएको भन्ने समाचार भ्रमपूर्ण रहेको स्पष्ट पारेको छ।

बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फैलिएको अंग्रेजी विषयको प्रश्नपत्र हालको परीक्षा सन्दर्भमा नभई अघिल्लो वर्षको रहेको प्रस्ट पारेको हो।

‘परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र बाहिरिएको’ भन्ने झूटो प्रचारले विद्यार्थी र अभिभावकहरूमा अनावश्यक त्रास सिर्जना गर्न खोजिएको भन्दै बोर्डले त्यस्ता भ्रममा नपर्न आग्रह गरेको छ।

बोर्डका अनुसार हाल सञ्चालनमा रहेको कक्षा १२ को परीक्षा सुरक्षित, मर्यादित र शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

‘हल्ला फैलाएर परीक्षा व्यवस्थापनमा अविश्वास फैलाउने कार्य आपत्तिजनक छ,’ बोर्डको विज्ञप्तिमा उल्लेख छ, ‘सत्यतथ्य नबुझी प्रचार गर्नेलाई कानुनी कारवाही गरिनेछ।’

तपाईको प्रतिक्रिया