२८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजना १५ दिनदेखि अवरुद्ध

ताप्लेजुङ, वैशाख १६ — लिम्बू समुदायको सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको मुन्धुमी स्थलको संरक्षणको मागसहितको आन्दोलनले ताप्लेजुङमा निर्माणाधीन अपर तमोर जलविद्युत् आयोजनाको कार्य अवरुद्ध भएको छ। निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको यो आयोजनाको क्षमता २८५ मेगावाट रहेको छ, जुन हालसम्मको देशकै सबैभन्दा ठूलो निजी जलविद्युत् आयोजना हो।

यसअघि पाथीभरा मुक्कुमलुङ केबलकार निर्माणमा पनि सोही मुद्दालाई लिएर विवाद उत्पन्न भइसकेको छ। अहिले भने ‘अपर तमोर संघर्ष समिति’ नामक स्थानीय समुहले आयोजना स्थलमा कालो झण्डा गाडी विरोध जनाएका छन्। समितिका संयोजक बिरबल लिङ्खिमले परियोजनाको कार्यविधि स्थानीय समुदायसँग कुनै पूर्वसम्पर्क वा सहमति विना अघि बढाइएको आरोप लगाएका छन्।

उनका अनुसार स्थानीय जनतालाई पूर्वसूचना, सार्वजनिक सुनुवाइ र परामर्शबिना परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (EIA) तथा विस्तृत परियोजना प्रतिवेदन (DPR) सार्वजनिक नगरी काम अघि बढाइएको छ। राजनीतिक दबाब र आर्थिक स्वार्थका कारण जबर्जस्ती आयोजना अगाडि बढाइएको उनको भनाइ छ।

समितिले गत चैतमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। विरोधस्वरूप स्थानीयले नारा जुलुस गर्दै कालो झण्डा गाडेका छन्। उनीहरुले आयोजनाको वर्तमान स्वरूपले मुन्धुमीस्थलसहितको महत्वपूर्ण सांस्कृतिक संरचना, समाधिस्थल, चिहान, चौतारा, माङ्गेना यक, र अन्य ऐतिहासिक सम्पदामा प्रत्यक्ष असर पार्ने दाबी गरेका छन्।

समितिका सचिव किशोर आङबोहाङका अनुसार लिम्बू समुदायका लागि यो क्षेत्र सभ्यता र पहिचानको उद्गम थलो हो, जसमा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट चेतावनी दिएका छन्। उनले सयौं वर्ष पुराना पुरातात्विक सम्पदा भत्किने खतरा भएको बताएका छन्।

उता, तमोर इनर्जी आयोजनाकी संयोजक सम्झना थापा क्षेत्रीले भने आयोजनालाई पूर्ण रूपमा बन्द गरिएको नभई अवरोधित क्षेत्रको काम मात्र रोकिएको जानकारी दिइन्। वैशाख १७ गते सम्बन्धित स्थानीय तहका पदाधिकारीहरूसँग छलफल हुने तयारी रहेको उनले बताइन्। आवश्यक परे सशस्त्र सुरक्षा व्यवस्था गरी काम अघि बढाउने विकल्पबारे पनि छलफल भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया