२६१३ जना एमाले महाधिवेशनमा सहभागी हुने


काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सूची अद्यावधिक गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयका संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वको टोली प्रतिनिधिहरूका विवरण समायोजन र प्रमाणीकरणमा निरन्तर काम गरिरहेको विभागले जनाएको छ।

संगठन विभागका प्रमुख अधिकारीका अनुसार महाधिवेशनका लागि २,१५४ जना प्रतिनिधि विभिन्न तहबाट निर्वाचित भएर आउने छन्। साथै केन्द्रबाट १०८ जना प्रतिनिधि मनोनयन गरिने भएकाले कुल प्रतिनिधि संख्या २,२६२ पुग्ने उनले बताए।

यसअघि ‘घर फर्क’ अभियानमार्फत् पूर्व नेकपा (एकीकृत समाजवादी) बाट फर्किएका तीन जना व्यक्तिले पनि प्रतिनिधिका लागि निवेदन दिएका छन्। उनीहरूको बारेमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जानकारी दिएको छ।

धनकुटा र ओखलढुंगामा देखिएको प्रतिनिधि छनोटसम्बन्धी विवाद समाधान भइसकेको अधिकारीले बताए। ती जिल्लामा पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१३ अनुसार प्रक्रिया नबसेका कारण प्रतिनिधि छनोट रद्द गरी पुनः मापदण्डअनुसार चयन गरिएको थियो। दुवै जिल्लाबाट हाल सर्वसम्मत प्रतिनिधि चयन भएको विभागको भनाइ छ।
यसबाहेक तीन जिल्लामा परेको उजुरीको छिनोफानो गर्ने काम जारी रहेको अधिकारीले बताए।

कसैकसै प्रतिनिधिका हकमा मापदण्ड नपुगेको आरोपसमेत परेकाले त्यससम्बन्धी छानबिन भइरहेको अधिकारीले बताए। विभागले मापदण्ड पूरा नगरेका व्यक्तिको परिचयपत्र नबनाउने तयारी गरेको पनि उनले स्पष्ट पारे। उनका अनुसार भन्दाभन्दा ७० प्रतिशत प्रतिनिधिको प्रमाणीकरण कार्य पूरा भइसकेको छ।

प्रतिनिधिका अतिरिक्त ३५१ जना सल्लाहकार परिषद्का सदस्यलाई ‘सहभागी’का रूपमा बन्द सत्र हलमा प्रवेश गराइने छ। परिषदमा ३७६ सदस्य रहेकामा २५ जना प्रतिनिधिका रूपमा चयन भएकाले बाँकीलाई सहभागीको भूमिकामा राखिने भएको हो।
यसरी प्रतिनिधि र सहभागी गरी जम्मा २,६१३ जना महाधिवेशनमा उपस्थिति रहनेछन्।

महाधिवेशनका प्रतिनिधिहरूका लागि परिचयपत्र बनाउनुपर्ने छपाइ कार्य तीव्र गतिमा भइरहेको संगठन विभागले जनाएको छ। हालसम्म ७० प्रतिशत परिचयपत्र छपाइ सकिएको छ भने बाँकी काम २५ गतेभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया