१४ वर्षीय वैभव सूर्यवंशीको ऐतिहासिक शतक, राजस्थानको शानदार जित

काठमाडौं, वैशाख १६ — १४ वर्षीय युवा क्रिकेटर वैभव सूर्यवंशीले आइपिएल २०२५ मा कीर्तिमानी शतक प्रहार गर्दै चर्चामा आएका छन्। सोमबार राति सम्पन्न खेलमा सूर्यवंशीको ऐतिहासिक प्रदर्शनको मद्दतले राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो।

राजस्थानले प्रस्तुत २१० रनको विशाल लक्ष्य १५.५ ओभरमै २ विकेट गुमाएर सहजै पार गर्‍यो। जीतका नायक रहे सूर्यवंशी, जसले मात्र ३५ बलमा शतक प्रहार गर्दै आईपीएल इतिहासको दोस्रो छिटो शतक बनाएका हुन्। उनले ३८ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै १०१ रनको शानदार इनिङ्स खेले।

वैभवले आइपिएलको आफ्नो तेस्रो खेलमै शतक प्रहार गर्दै सबै फर्म्याटको क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा ब्याटरको कीर्तिमान पनि बनाएका छन्।

राजस्थानका अर्का ओपनर यसश्वी जैसवालले ४० बलमा अविजित ७० रन बनाउँदै टोलीलाई जितको नजिक पुर्‍याए। वैभव र यसश्वीबीचको ओपनिङ साझेदारी निर्णायक सावित भयो। उत्कृष्ट प्रदर्शनका लागि सूर्यवंशी खेलको प्लेयर अफ द म्याच घोषित भए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले शुभमन गिलको ८४ रन र जोस बटलरको अविजित ५० रनको मद्दतमा २० ओभरमा ४ विकेट गुमाउँदै २०९ रन बनाएको थियो।

तपाईको प्रतिक्रिया