होटेलमा त्रास सिर्जना गरी लुटपाट, दुई महिलासहित आठ जना पक्राउ

काठमाडौं, – काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीको ‘होटेल मेन्स’ मा ग्राहकलाई डर देखाई लुटपाट गरेको आरोपमा दुई महिलासहित आठ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार सो समूहले होटलमा बसेका व्यक्तिहरूलाई धम्की दिँदै नगद लुट्ने प्रयास गरेका थिए। नगद नभएका व्यक्तिहरूलाई भने त्रास देखाएर मोबाइल बैंकिङ, ई–सेवा लगायतका माध्यमबाट रकम ट्रान्सफर गराई कूल ३ लाख ६३ हजार रुपैयाँ लुटिएको बताइएको छ।

पीडितको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट अभियुक्तहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपुर गैँडाकोटका २४ वर्षीय अनीश केसी, चितवन भरतपुर–१८ का अतीत क्षेत्री, २४ वर्षीय सन्दीप विक, नवलपुर देवचुली नगरपालिकाका २३ वर्षीय सन्दीप परियार, गैँडाकोटकै २५ वर्षीय दिप्सन उर्फ विवेक मल्ल ठकुरी, चितवन भरतपुरका २२ वर्षीय बादल तामाङ, लमजुङ उदयपुर नगरपालिकाका १९ वर्षीय सक्रिय खनिया र सुनसरी धरान उपमहानगरपालिकाकी २४ वर्षीया कविता राई रहेका छन्।

पक्राउ परेकाहरूको साथबाट बागमती प्रदेशको नम्बर प्लेट (०२–०५३ प ९८७८) भएको मोटरसाइकल, विभिन्न कम्पनीका ९ थान मोबाइल फोन र ५२ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया