हुम्लाका ६ गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागू, समुदायको भाषा र संस्कृति संरक्षणमा जोड

हुम्ला, – हुम्ला जिल्लाका ६ वटा गाउँपालिकाले स्थानीय विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागू गरेका छन्। आफ्नै क्षेत्रको भाषा, लिपि, संस्कृति, सभ्यता र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित यी पालिकाहरूले स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन, २०७६ (मातृभाषासहित) अनुरूप पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएका हुन्।

सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार स्थानीय पाठ्यक्रममार्फत बालबालिकालाई आफ्नै परिवेश र वातावरणबाट सिक्ने अवसर प्रदान गर्न, भूगोलबारे बुझ्न, समुदायमा रहेका ज्ञान र मूल्यको अध्ययन गर्न प्रेरित गरिनेछ।

यता, अदानचुली गाउँपालिकाका पाठ्यक्रम निर्माण विज्ञ सदस्य डा. दीपेन्द्र रोकायाले स्थानीय पाठ्यक्रम सबै समुदायका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।

हुम्लाका सात स्थानीय तहमध्ये सिमकोट, नाम्खा, खार्पुनाथ, ताँजाकोट, सर्केगाड र अदानचुली गाउँपालिकाले यसै शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका छन्। अदानचुलीले पाठ्यक्रम निर्माण हालै मात्र सम्पन्न गरे पनि यही शैक्षिक सत्रबाट लागू गर्ने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप भण्डारीले जानकारी दिए। बाँकी रहेको चङ्खेली गाउँपालिकाले भने आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने जनाएको छ।

स्थानीय पाठ्यक्रमले शिक्षालाई जीवनसँग जोड्न र बालबालिकाको मौलिक पहिचान संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया