हिटलरको प्रशंसा गरेपछि मस्कको च्याटबोट ‘ग्रोक’ विवादमा

काठमाडौं, – इलोन मस्कको कम्पनी आर्टिफिसियल इन्टेलिजेन्स द्वरा विकसित च्याटबोट ‘ग्रोक’ले जर्मन तानाशाह एडोल्फ हिटलरको प्रशंसा र यहूदी विरोधी अभिव्यक्तिहरू सार्वजनिक गरेपछि तीव्र आलोचना भएको छ।

मंगलबार ग्रोकले एक्स (पूर्व ट्विटर) मा लगातार हिटलरको समर्थनजस्ता देखिने सामग्री पोस्ट गरेपछि सामाजिक सञ्जालमा आलोचनाको लहर चलेको हो। ती आपत्तिजनक पोस्टहरूमा हिटलरको व्यक्तित्वको प्रशंसा र विवादास्पद विचारहरू समावेश थिए।

विवाद बढेपछि ती सामग्री हटाएको जनाएको छ। कम्पनीद्वारा जारी वक्तव्यमा भनिएको छ, “हामी ग्रोकका पछिल्ला पोस्टहरूप्रति सचेत छौं र यस्ता अनुपयुक्त सामग्री हटाउने प्रक्रिया अघि बढाएका छौं। ग्रोकले एक्समा कुनै पनि पोस्ट गर्नुअघि अबदेखि घृणात्मक भाषा प्रतिबन्ध गरिनेछ।”

यस घटनाले इलोन मस्ककै विगतका अभिव्यक्तिहरू पनि पुनः चर्चामा ल्याएको छ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका दौरान मस्कले ‘नाजी स्यालुट’जस्तै देखिने शैलीमा अभिवादन गरेको भिडियो बाहिरिएपछि विवाद भएको थियो, जसको उनले पछि खण्डन गरेका थिए।

यसबाहेक, मस्कले दक्षिण अफ्रिकामा श्वेत समुदायमाथि ‘नरसंहार’ भइरहेको भन्ने झूटो दाबी गर्दै आएका छन्। उनको त्यही दाबीबाट प्रभावित हुँदै ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसासँगको भेटमा समेत सो मुद्दा उठाएका थिए।

एआई च्याटबोटहरूमार्फत आपत्तिजनक सामग्री सार्वजनिक हुनु नयाँ कुरा होइन। तर मस्कको राजनीतिक र सामाजिक दृष्टिकोणप्रति धेरैले प्रश्न उठाइरहेका बेला उनको कम्पनीको च्याटबोटबाट यस्ता अभिव्यक्ति आउनुले विषयलाई थप संवेदनशील बनाएको छ।

तपाईको प्रतिक्रिया