स्वेइडामा युद्धविराम घोषणा

सिरिया — सिरियाको दक्षिणी प्रान्त स्वेइडामा पछिल्ला दिनमा भएको हिंसात्मक झडपपछि सिरियाली अधिकारीहरूले पूर्ण युद्धविराम घोषणा गरेका छन्।

ड्रुज सशस्त्र समूह, बेदुइन जनजाति र अन्तरिम सरकार समर्थित सेनाबीच भएको भिडन्तपछि यो निर्णय गरिएको सिरियाली सुरक्षा अधिकारी मुरहाफ अबु कास्राले जानकारी दिएका छन्।

उनका अनुसार, स्थानीय समुदायका नेताहरू र प्रतिष्ठित व्यक्तिहरूसँगको सहमतिपछि स्वेइडा शहरमा कार्यरत सबै सैन्य इकाइहरूलाई युद्धविरामको आदेश दिइएको हो।

सेनालाई नागरिक सुरक्षामा ध्यान दिन निर्देशन

अबु कास्राका अनुसार सेनाले अब सिर्फ आक्रमणको सक्रिय स्रोतहरूविरुद्ध प्रतिक्रिया दिनेछ। नागरिक सुरक्षामा प्राथमिकता दिन, सामाजिक शान्ति कायम राख्न र सार्वजनिक सम्पत्तिको रक्षा गर्न कडा निर्देशन दिइएको उनले बताए।

साथै, शहरभित्र सशस्त्र प्रहरी इकाइहरूलाई अनुशासन र जवाफदेहितासहित परिचालन गर्ने आदेश पनि दिइएको छ।

बेलायतस्थित निगरानी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार पछिल्ला दुई दिनमा भएको भिडन्तमा कम्तिमा ९९ जनाको मृत्यु भएको छ र करिब २०० जना घाइते भएका छन्। मृत्यु हुनेमा:

  • ६० जना ड्रुज समुदायका सदस्य (जसमा दुई महिला र दुई बालबालकासमेत),
  • १८ जना बेदुइन समुदायका सदस्य,
  • १४ जना अन्तरिम सरकारका सैनिक,
  • ७ जना सैन्य पोशाकमा रहेका अज्ञात व्यक्ति छन्।

सिरियाली रक्षा प्रवक्ता हसन अब्देल घानीले गैरकानुनी सशस्त्र समूहहरूद्वारा गरिएको आक्रमणमा १८ सैनिकको ज्यान गएको बताएका छन्।

सेनाले सैन्य सवारी फिर्ता गर्न थाल्यो

युद्धविराम घोषणा भएसँगै सोमबारदेखि स्वेइडा शहरबाट भारी सैन्य सवारी साधनहरू फिर्ता गरिन थालिएको छ।

सप्ताहान्तमा भएको हिंसात्मक झडपपछि स्थायित्व ल्याउन भन्दै सरकारले युद्धविरामको निर्णय लिएको हो। यो निर्णयसँगै स्थानीयस्तरमा पुनः शान्ति स्थापना हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया