स्वास्थ्य संस्थाहरूलाई मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न मुख्यमन्त्रीको निर्देशन

फाइल तस्बिर।

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी अस्पताल र स्वास्थ्य संस्थाहरूलाई सरकारले तोकेको नीति, नियम र मापदण्डहरूको पूर्ण पालना गर्दै सेवा प्रदान गर्न निर्देशन दिएका छन्।

सोमबार तुलसीपुरमा राप्ती लाइफ केयर हस्पिटल प्रालिको मोतीपुरस्थित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रको संवेदनशीलताका कारण सरकारले तोकेका मापदण्डहरूको पालन गर्नु अत्यन्त आवश्यक रहेको बताए।

उनले भने, “स्वास्थ्य क्षेत्र प्रत्येक नागरिकको जीवनसँग सीधा सम्बन्धित छ, त्यसैले राज्यका नीति र मापदण्डहरूको पालन गर्दै निजी अस्पतालहरूले सेवा दिनु पर्छ।”

त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रदेश सरकार निजी क्षेत्रको विरोधमा नभई, त्यससँग हातेमालो गर्दै अगाडि बढ्ने नीति लिइरहेको र निजी क्षेत्रको लगानीलाई सुरक्षित राख्दै नियमनमार्फत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाए।

उनले प्रदेश सरकारले स्वास्थ्य सेवा उच्च प्राथमिकतामा राख्दै सबै नागरिकको पहुँचमा ल्याउने नीति अपनाएको बताए।

तपाईको प्रतिक्रिया