“स्थिर सरकारसँगै विकास योजनाले गति लिनेछ: सांसद. जगदीश खरेल”

काठमाडौँ, १४ वैशाखlस्थिर राजनीतिक वातावरण कायम भएपछि मुलुकको विकास निर्माणका कार्यहरूले अपेक्षित गति लिने विश्वास व्यक्त गरिएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै माननीय जगदीश खरेलले विगतमा सरकार बारम्बार परिवर्तन हुँदा विकासका दीर्घकालीन योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो।

राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रद्वारा आयोजित सौर्य ऊर्जा पम्पिङ प्रणाली सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले बहुमतसहित स्थिरता प्राप्त गरेकोले अब विकास निर्माण, पूर्वाधार विस्तार तथा सेवा प्रवाहमा सकारात्मक परिवर्तन देखिने बताउनुभयो। उहाँका अनुसार स्थिर सरकार नै दिगो विकासको आधार भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा उहाँले नेपालको संविधानको धारा ३५ अन्तर्गत सुनिश्चित गरिएको स्वास्थ्यसम्बन्धी मौलिक हकबारे चर्चा गर्दै प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइ सेवामा पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनुभयो। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरू अझै गुणस्तरीय खानेपानी सेवाबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेको अवस्थातर्फ संकेत गर्दै खानेपानी आयोजनाहरूको दिगोपन, गुणस्तर नियन्त्रण तथा प्रभावकारी व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो।

त्यसैगरी, जलवायु परिवर्तन र ऊर्जा स्रोतको दिगोपनलाई मध्यनजर गर्दै सौर्य ऊर्जामा आधारित पानी पम्पिङ प्रणाली नेपालको ग्रामीण खानेपानी व्यवस्थापनका लागि महत्वपूर्ण विकल्प भएको उहाँले उल्लेख गर्नुभयो। तर वर्षायाम वा लामो समयसम्म घाम नलाग्ने अवस्थाले पम्पिङ प्रणालीमा समस्या आउन सक्ने भएकाले वैकल्पिक ऊर्जा व्यवस्थापन, प्राविधिक तयारी तथा नियमित मर्मतसम्भार आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।

कार्यशालामा खानेपानी तथा सरसफाइ क्षेत्रका विज्ञ, प्राविधिक, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सौर्य ऊर्जा प्रविधिको प्रयोगमार्फत दिगो खानेपानी व्यवस्थापन, ऊर्जा बचत तथा वातावरण संरक्षणका सम्भावनाबारे समेत छलफल गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया