स्थानीय तहमा पुग्दै जनताको अपेक्षा बुझ्दै सरकार

ललितपुर – सरकारले नागरिकसँग प्रत्यक्ष संवाद मार्फत माग, सुझाव र समस्या बुझ्ने अभियानलाई निरन्तरता दिएको छ। यस अभियानअन्तर्गत सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेल आज महालक्ष्मी नगरपालिकाको वार्ड नम्बर ७ मा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवादमा सहभागी हुनु भएको छ।

मन्त्री खरेलले कार्यक्रममा उपस्थित नागरिकसँगको संवादमा भन्नुभयो, “सरकारको कामकाज केवल सिंहदरबारमा सीमित नराखी, स्थानीय तहसम्म पुगेर वास्तविक समस्या बुझ्नु आवश्यक छ। प्रत्यक्ष संवादले नीति तथा योजना निर्माणमा नागरिकको आवश्यकता र सुझावलाई प्राथमिकतामा राख्न सहयोग पुर्‍याउँछ। यसले सेवा वितरणमा पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्दछ।”

वार्ड ७ का नागरिकहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पानी–विद्युत र अन्य सार्वजनिक सेवासम्बन्धी आफ्ना आवश्यकताहरू उठाउनु भएको थियो। मन्त्री खरेलले भन्नुभयो, “तपाईंहरूले प्रस्तुत गर्नुभएको सुझावहरूलाई ध्यानपूर्वक विश्लेषण गरी आवश्यक कदम चालिनेछ र कार्यान्वयनमा समावेश गरिनेछ।”

कार्यक्रममा स्थानीय प्रतिनिधिहरू र वडा कार्यालयका कर्मचारीहरू पनि उपस्थित थिए। उहाँले थप भन्नुभयो, “नागरिकसँगको प्रत्यक्ष संवादले सरकार र समुदायबीच विश्वास बढाउने र दीर्घकालीन विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग गर्नेछ।”

त्यसैगरी, सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ मा हुने निर्वाचन “सुरक्षित, निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।”

सरकारको यो अभियानले स्थानीय तहमा नागरिकको सुझाव र आवश्यकता सेवा वितरणमा पारदर्शिता सुनिश्चित गर्ने उद्देश्य राखेको मन्त्री खरेलले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले पनि सरकार सँग प्रत्यक्ष संवाद गर्न पाउँदा सन्तुष्टि व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया