स्थगित भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान १० बजेका लागि आह्वान गरेको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित गरिएको छ। प्रधानमन्त्रीको सचिवालयले आकस्मिक सूचनामार्फत बैठक स्थगित भएको जानकारी दिएको हो।

साथै, सोही दिनका लागि तय गरिएको नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथग्रहण कार्यक्रम पनि स्थगित गरिएको छ।

राज्यमन्त्री गर्बुजाले शपथ स्थगनको विशेष कारण नभएको बताउँदै भने, ‘मन्त्रिपरिषद् बैठक नबसेपछि शपथ कार्यक्रम पनि सरेको जानकारी आएको छ। अरू कुनै कारण छैन।’

गर्बुजा बुधबार उक्त पदमा नियुक्त भएका थिए। नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेपछि खाली भएको पदमा गर्बुजा नियुक्त भएका हुन्।

बैठक र शपथ स्थगित भएपछि विभिन्न कोणबाट अड्कलबाजी हुन थालेको छ। यद्यपि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय अभावका कारण बैठक नबसेको स्पष्ट पारेका छन्।

उनले बाह्रखरीसँग भने, ‘आज बिहान ११ बजे आठौँ राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा महेन्द्र पुलिस क्लबमा कार्यक्रम थियो। दिउँसो ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची थियो। त्यसैले बैठकको समय मिलेन।’

एक मन्त्रीका अनुसार आजको बैठकका लागि कुनै विशेष एजेन्डा तय गरिएको थिएन। उनले भने, ‘नीति तथा कार्यक्रम अघिल्लो बैठकबाटै पारित भइसकेको थियो, त्यसैले आजको बैठक अनिवार्य थिएन।’

यसबीच सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा भने अझै नियुक्ति गरेको छैन, जसलाई लिएर समेत टिप्पणी भइरहेका छन्।

तपाईको प्रतिक्रिया