सैनिक कल्याणकारी कोषबाट दुई करोड २१ लाख हिनामिना, उच्च अधिकारीमाथि अनुसन्धान सुरु

काठमाडौं – सैनिक कल्याणकारी कोषको दुई करोड २१ लाख ८५ हजार ५१८ रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाली सेनाले दुई उच्च सैनिक अधिकृतमाथि अनुसन्धान सुरु गरेको छ।

सेनाले बहालवाला सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। यी दुई सैनिक अधिकृतहरूलाई सैनिक कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा संलग्न भएको भनिएको छ।

सोही हिनामिनामा संलग्न भएका दुई अवकाशप्राप्त सैनिकहरूलाई भने नेपाली सेनाले नेपाल प्रहरीको जिम्मामा दिएको छ। प्रहरीको जिम्मामा रहेका यी अवकाशप्राप्त सैनिकहरूमा जमदार आत्मराम थापा र प्रमुख सेनानी लक्ष्मण अधिकारी रहेका छन्।

नेपाल प्रहरीले आवश्यक छानबिन गरेपछि, थापा र अधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार आपराधिक विश्वासघात मुद्दा दर्ता गरेको छ। दायर गरिएको मुद्दामा, थापा र अधिकारीविरुद्ध दुई करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ बिगो कायम गरिएको छ।

अभियोगपत्रअनुसार, उनीहरूले ०७४ कात्तिक १३ गतेदेखि ०७५ भदौ २६ गतेसम्म १४४ थान चेकमार्फत एक करोड ७४ लाख २१ हजार ३२९ रुपैयाँ हिनामिना गरेका छन्। त्यस्तै, ०७३ फागुन ९ देखि ०७५ असोज १७ सम्म ४० थान चेकमार्फत ४७ लाख ६४ हजार १८५ रुपैयाँको हिनामिना भएको पनि अभियोगपत्रमा उल्लेख गरिएको छ।

सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास र विमाबापतको रकम भुक्तानी गर्दा काल्पनिक नामहरू समावेश गरी रकम भुक्तानी गरिएको पाइएकोले नेपाली सेनाले छानबिन अघि बढाएको थियो। सेनाले भने बहालवाला सैनिकमाथि आफैँ अनुसन्धान गरिरहेको छ भने अवकाशप्राप्त सैनिकमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएको थियो।

सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीले ०८१ चैत ३१ गते प्रहरीलाई पत्र पठाएर अनुसन्धान गर्न अनुरोध गरेको थियो। त्यसपछि प्रहरी अनुसन्धान गरेर थापा र अधिकारीमाथि मुद्दा दायर गरिएको हो।

अभियोग पत्रका अनुसार, तत्कालीन समयमा लक्ष्मण अधिकारी, बोधराज कार्की, रोशन खड्का र आत्मराम थापाले आपसी मिलेमतो र योजनामा सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास र विमाबापतको रकम काल्पनिक र दोहोरो नाममा भुक्तानी गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।

जमदार आत्मराम थापाले प्रहरीसँगको बयानमा भनेका छन्, “मैले सो चेकहरू भरेर नगद रकम लिएर उक्त रकम लक्ष्मण अधिकारी, बोधराज कार्की र रोशन खड्कालाई दिन्थें। तत्कालीन समयमा म सबैभन्दा जुनियर कर्मचारी भएको कारण चेन अफ कमान्ड अनुसार उच्च अधिकारीहरूको निर्देशनमा काम गर्थें।”

तपाईको प्रतिक्रिया