प्रधानमन्त्री कार्कीः भ्रष्टाचारविरुद्ध सरकार अडिग, सुशासनको प्रतिबद्धता

काठमाडौँ, – प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार केवल चुनावी सरकार नभई सुशासन प्रवर्द्धन गर्ने सरकार भएको बताउनुभएको छ।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सरकार सुशासनका माग र जनजीवन सुधारका आशा अनुरूप काम गरिरहेको जानकारी दिनुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “जनजी आन्दोलनका माग र अपेक्षाअनुसारका उपलब्धि हासिल हुन समय लाग्न सक्छ, तर भ्रष्टाचारविरुद्ध जुनसुकै कदम उठाउन पनि सरकार पछि हट्ने छैन। यसको लागि राज्यका स्थापित संयन्त्रहरू क्रियाशील भइसकेका छन्।”

उहाँले थप्नुभयो कि केही तत्वहरूले चालिएका कदमबाट अत्तालिएर प्रत्यक्ष वा परोक्ष धम्की दिने प्रयास गरे पनि सरकार डराउने छैन। साथै, सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरुलाई पनि आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गर्दै निर्धक्क रूपमा कार्य गर्न आग्रह गर्नुभयो।

तपाईको प्रतिक्रिया