सुन आयात तथा बिक्री वितरण प्रणाली पुनरावलोकन हुने, मौद्रिक नीतिबाट घोषणा


काठमाडौं —नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ। शुक्रबार सार्वजनिक भएको आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति मार्फत गभर्नर डा. विश्वनाथ पौडेलले सो जानकारी दिएका हुन्।

उनका अनुसार, सुनको कारोबारसम्बन्धी यसअघि गरिएको अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा नेपाल सरकारको समन्वयमा सो प्रणालीको पुनरावलोकन गरिनेछ।

त्यसैगरी, मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले गर्ने नन-डेलिभरेबल फरवार्ड (NDF) कारोबारमा प्राथमिक पुँजीको सीमा २० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने व्यवस्था गरिएको छ।

भारतबाहेक अन्य मुलुक भ्रमण गर्ने नेपाली नागरिकका लागि उपलब्ध मुद्रा सटही सुविधा पनि संशोधन गरिएको छ। हाल अमेरिकी डलर २५ सयको सीमा रहेकामा अब सो सीमा डलर ३ हजार कायम गरिने नीति लिइएको छ।

राष्ट्र बैंकले विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैंकमार्फत विदेशी विनिमय जोखिम व्यवस्थापन (forex risk management) को व्यवस्था मिलाइने पनि मौद्रिक नीतिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया