सुनिल पौडेलसहित पाँचजना र एक कम्पनीविरुद्ध पाँच करोड बढी भ्रष्टाचार अभियोग

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँचजना व्यक्ति र एक कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आरआईएससी र एचसीआई सर्भर खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

मुद्दामा पौडेलसँगै केन्द्रकै तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इञ्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेसनल प्रालि र सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेन पनि प्रतिवादी रहेका छन्।

प्रत्येक प्रतिवादीसँग पाँच करोड ७९ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

आर्थिक वर्ष २०७५/७६ मा ‘सप्लाई, डेलिभरी एन्ड इन्स्टलेसन एन्ड कमिसनिङ अफ आरआईएससी एन्ड एचसीआई सर्भर’ अन्तर्गत गरिएको खरिद प्रक्रियामा अनियमितता भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा सूचना प्रविधि केन्द्रले तयार पारेको २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसाको लागत अनुमान भएको बोलपत्र प्रक्रियामा मिलेमतो गरी पाँच करोड ७९ लाख रुपैयाँ भ्रष्टाचार गरिएको पुष्टि भएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया