सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि, दुवैले बनाए नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ उच्च बिन्दु छोएको छ । आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला दुई लाख २३ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

यसअघि, असोज ८ गते सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो । त्यसपछिको केही दिनमा घटबढ भए पनि आइतबार पुनः नयाँ मूल्य रेकर्ड कायम भएको हो ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

गत शुक्रबारको तुलनामा चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला दुई हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया