सुदूरपश्चिममा भारी वर्षा, धनगढीका १५० घर डुबानमा

काठमाडौँ । आइतबार अपरान्हदेखि लगातार परेको भारी वर्षाका कारण सुदूरपश्चिम क्षेत्र विशेषगरी धनगढी उपमहानगरपालिका डुबानमा परेको छ। कैलालीको धनगढी क्षेत्रमा पर्ने मोहना नदी आसपासका बस्तीहरू पानीमा डुबेका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार, मोहना नदीसँग जोडिएका धनगढी उपमहानगरपालिकाका वडा नं. १, २, ३, ८ र १३ मा करिब १५० घर डुबानमा परेका छन्।

केही बस्तीहरूमा घरभित्रै पानी पसेको छ। पाँच परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जानकारी दिएको छ। उपमहानगरका नगर प्रहरी तथा अन्य कर्मचारीहरू सोमबार बिहानैदेखि पानी निकासको काममा खटिएको मेयर गोपाल हमालका स्वकीय सचिव सुरेन्द्र भट्टले बताएका छन्।

धनगढीको मुख्य बजार क्षेत्रलगायत शिवनगर क्षेत्र बढी प्रभावित भएको छ। कैलालीको धनगढी र गोदावरी नगरपालिकामा भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागको अत्तरिया कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा कैलालीमा २१३ मिलिमिटर वर्षा भएको छ।

यद्यपि, पहाडी क्षेत्रमा कम वर्षा भएकाले कैलालीको पूर्वी क्षेत्रमा डुबानको खासै असर देखिएको छैन।

हाल वर्षा केही कम भएको र मोहना नदीको पानीको सतह घट्दो अवस्थामा रहेकाले ठूलो स्तरको विपद् आउने सम्भावना नरहेको सूचना अधिकारी जोशीले बताए। तर, सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मी, उद्धार टोली र आवश्यक सामग्री तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया