सिस्नेरी खानेपानी आयोजना तीव्र गतिमा अघि बढ्ने : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मकवानपुरको सिस्नेरी खोला खानेपानी आयोजना तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सिस्नेरी आयोजना स्थलको निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आयोजना यथासक्य चाँडो सम्पन्न गर्न निर्देशन दिएको बताए।

मन्त्री यादवले भने, “वर्षायाममा मेलम्ची खानेपानी परियोजनामा कुनै अवरोध आउनु नपरोस् र उपत्यकावासीले पानीको अभाव नदेखोस् भन्ने हाम्रो उद्देश्य हो। त्यसैले, सिस्नेरी आयोजना छिटो अघि बढाइनेछ।”

उक्त महत्वाकांक्षी परियोजना समयमै सम्पन्न गर्न संघीय, प्रदेश र स्थानीय सरकारहरूको समन्वय अपरिहार्य रहेको उनले उल्लेख गरे। साथै, उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको प्रविधि, वित्तीय सहयोग र अनुभवबाट परियोजना चाँडो सम्पन्न हुने विश्वास व्यक्त गरे।

“मैले तीन तहका सरकार र अन्तर्राष्ट्रिय साझेदारलाई यस आयोजनामा सहयोग गर्न आग्रह गरेको छु। काठमाडौँ उपत्यकावासीलाई भरपर्दो र दिगो पानी उपलब्ध गराउन हाम्रो सामूहिक प्रयास आवश्यक छ,” मन्त्री यादवले थपे।

सिस्नेरी खोला खानेपानी आयोजनामा काठमाडौँ उपत्यकावासीलाई २४ घण्टा पानी उपलब्ध गराउने र वर्षभरि पानी वितरण गर्ने योजनाअनुसार काम तीव्र गतिमा अघि बढाउने तयारी गरिएको मन्त्री यादवले बताए।

सिस्नेरी खोला आयोजना अन्तर्गत मकवानपुरको सिस्नेरी खोलामा बाँध निर्माण गरी पानी संकलन गरिनेछ, र आयोजना सम्पन्न भएपछि दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको भेसेपाटी सैंबु जलाशयमा पठाइनेछ, जहाँ पानी ललितपुर क्षेत्रभित्र वितरण हुनेछ। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) का कार्यकारी निर्देशक संजीवविक्रम राणाले यसबारे जानकारी दिएका छन्।

सिस्नेरी आयोजना ललितपुरको सैंबु रिजर्भवायरबाट लगभग १९ किलोमिटर दक्षिणमा स्थित छ र यो आयोजना कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर हुँदै बगेको बागमती नदीको नजिक अवस्थित छ। सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानी खोला को शाखा हो भने, कुलेखानी बागमती नदीको सहायक खोला हो। यस परियोजनालाई दीर्घकालीन महत्वको आयोजना मानिएको छ।

तपाईको प्रतिक्रिया