सिराहा घटनामा संलग्नलाई कडा कारबाही गरिने: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सिराहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिंकु कुमारी सदायको सामूहिक बलात्कारपछि मृत्युको घटनामा संलग्न सबैलाई कानूनी कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।

आजको राष्ट्रिय सभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले भने, “रिंकु सदायको घटनामा संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउन हामी सक्रियतासाथ काम गर्दैछौं।” उनले थपे, “हामी पक्का छौं कि अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी प्रक्रियाबाट कडा सजाय दिइनेछ।”

गृहमन्त्रीले जानकारी दिए कि २०८१ माघ ३० गते रिंकु सदाय आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् र त्यसको सम्बन्धमा टिंकु नामक रुपेश मण्डलविरुद्ध आत्महत्या प्रोत्साहनको मुद्दा दर्ता गरिएको थियो। उनको नाममा पक्राउ पुर्जी जारी गरिएको छ।

मन्त्री लेखकले फागुन ८ गते मृतकको आमाबाट प्राप्त पूरक जाहेरीमा आठजनाको नाम उल्लेख गरिएको जानकारी पनि दिए। जसमा आरोप छ कि तिनले रिंकुलाई अपहरण गरी सामूहिक बलात्कार गरे र त्यसपछि हत्या गरे। यसैगरी, पञ्चायती मिलापत्र गर्ने प्रयास भएको थियो। यस घटनामा संलग्न तीनजनालाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको र अन्य आरोपितहरूका लागि पक्राउ पुर्जी जारी गरिएको पनि उनले बताए।

गृहमन्त्रीले प्रहरीले सक्रियतापूर्वक पीडकको खोजी गरिरहेको र छिटोभन्दा छिटो कारबाही अगाडि बढाउने प्रतिवद्धता जनाए।

तपाईको प्रतिक्रिया