सिरहामा नक्कली बुवा बन्ने एक व्यक्ति पक्राउ

सिरहा — सिरहामा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन नक्कली बुवा बन्ने एक व्यक्ति पक्राउ परेका छन्। नरहा गाउँपालिका-३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार, मियाँलाई मंगलबार साँझ उनका घरबाटै पक्राउ गरिएको हो। उनले थपे, सिरहा जिल्ला अदालतबाट बुधबार म्याद लिएर मियाँमाथि विस्तृत अनुसन्धान प्रक्रिया शुरु हुनेछ।

पण्डितले भने, “हामीले यो विषयमा अनुसन्धानलाई सूक्ष्म तरिकाले अघि बढाएका छौं र यसमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने छौं।”

नरहा गाउँपालिका-३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई २०८० असार २६ गते नेपाली नागरिकता दिएको थियो। अमानत मियाँ र उनकी पत्नी रजिना खातुन नक्कली बुबाआमा बनेका थिए।

वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले नागरिकता सिफारिस गरेका थिए। यसमा सिफारिसकर्ताहरू, वडाध्यक्ष, सचिव र जिल्ला प्रशासनका कर्मचारीले २ लाख भारु घुस लिएको आरोप छ। यस कारण जिल्ला प्रशासनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी दर्ता भएको थियो।

तर, कान्तिपुरले यो विषय सार्वजनिक गरेपछि संसद्‌मा पनि उठेको थियो। सांसद राजकिशोर यादवले वडाध्यक्ष, जो सत्तारुढ एमालेका सदस्य हुन्, उनलाई संरक्षण दिइएको भन्दै आपत्ति जनाएका थिए।

नागरिकता प्रक्रिया मिलेमतोको आरोपमा संलग्न व्यक्तिहरूको कारबाहीको माग गर्दै प्रजिअलाई ज्ञापनपत्र बुझाइएको छ।

तपाईको प्रतिक्रिया