‘सिफारिस अनुसार कारबाही गर्नुस्, नत्र फेरि आन्दोलन हुन्छ’ — गौरीबहादुर कार्की

काठमाडौं : जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन्। प्रतिवेदन बुझाउँदै उनले त्यसलाई सार्वजनिक गर्न र आयोगले गरेको सिफारिसअनुसार आवश्यक कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

अध्यक्ष कार्कीका अनुसार उनले आयोगमा जिम्मेवारी लिनुअघि नै जाँचबुझ आयोग गठन भई त्यसको प्रतिवेदन सार्वजनिक गरिनुका साथै दोषीमाथि कारबाही हुनुपर्ने धारणा राख्दै आएका थिए। प्रतिवेदन हस्तान्तरणका क्रममा पनि उनले यही विषय प्रधानमन्त्रीसमक्ष राखेको बताए।

उनले प्रतिवेदनका आधारमा आवश्यक कदम चाल्न नसकिए पुनः आन्दोलनको अवस्था आउन सक्ने चेतावनीसमेत दिएको बताए। उनका अनुसार प्रधानमन्त्रीले उक्त प्रतिवेदन सरकारको सम्पत्ति भएको प्रतिक्रिया दिएको जानकारी पनि उनले दिएका छन्।

आयोगलाई भदौ २३ र २४ गते भएका घटनाबारे अनुसन्धान गरी दोषी पहिचान गरेर कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी दिइएको थियो। सोहीअनुसार अनुसन्धानपछि देखिएका जिम्मेवार व्यक्तिहरूविरुद्ध कारबाही सिफारिस गरिएको अध्यक्ष कार्कीले बताएका छन्।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिहरूको विवरण सार्वजनिक गर्ने र आवश्यक निर्णय गर्ने जिम्मेवारी अब सरकारकै हुने आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया