सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत

काठमाडौँ । सरकारले फिर्ता लिने निर्णय गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।

आज सम्पन्न राष्ट्रिय सभाको बैठकले विचाराधीन अवस्थामा रहेको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ औपचारिक रूपमा फिर्ता लिएको घोषणा गरेको हो। सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्तासम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि सभाबाट सर्वसम्मति प्राप्त भएको जानकारी गराएका थिए।

यसअघि विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले सामाजिक सञ्जाल विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेकी थिइन्।

राष्ट्रिय सभाले ०८२ भदौ १३ गतेको बैठकमा उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा ३५ जना सांसदहरूले कुल १५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गत माघ २० गते विधेयक फिर्ता लिने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट माघ २१ गते सरकारका तर्फबाट राष्ट्रिय सभामा औपचारिक पत्र पठाउँदै विधेयक फिर्ताको प्रस्ताव गरिएको थियो।

तपाईको प्रतिक्रिया