साढे १ अर्बको क्रिप्टो कारोबारमा संलग्न दुई भारतीय पक्राउ


काठमाडौं — साढे १ अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो मुद्रासम्बन्धी कारोबार गरेको आशंकामा दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारतको बिहार मोतिहारी निवासी ४३ वर्षीय रूपेश कुमार गुप्ता र बिहारकै पूर्वी चम्पारण बिजबानी निवासी २२ वर्षीय बिपिन कुमार रहेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले प्राप्त गरेको सूचनाका आधारमा ललितपुर महानगरपालिका–२ सानेपास्थित कालोपुल क्षेत्रको ‘राजतीर्थ ट्रेडर्स’ नामक किराना पसलको आवरणमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार भइरहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट करिब ८ लाख २० हजार नेपाली रुपैयाँ नगद, १० हजार भारतीय रुपैयाँ, ५ थान मोबाइल र संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने ७४ ग्राम तौलको एक वस्तु समेत बरामद गरेको जनाएको छ।

उनीहरूविरुद्ध अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टो) को कारोबार, हुण्डी कारोबार र वन्यजन्तुसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै विदेशी नागरिकको संलग्नतासमेत रहेको देखिएको भन्दै विस्तृत अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया