सांसद तामाङको सुझाव : अवैध सम्पत्ति वैध बनाउन कर प्रणालीमार्फत निकास

काठमाडौं, – संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले देशभित्र रहेको अवैध सम्पत्तिलाई कर प्रणालीमार्फत वैध बनाउने प्रस्ताव राखेका छन्। उनले कुनै पनि माध्यमबाट सञ्चित सम्पत्तिलाई न्यूनतम कर लगाएर अर्थतन्त्रमा ल्याउने सुझाव अर्थमन्त्री विष्णु पौडेललाई दिएका हुन्।

“जोसुकै नेपालीसँग जे जस्तो माध्यमबाट आएको भए पनि त्यो सम्पत्ति बाहिर ल्याउने व्यवस्था गरौँ,” तामाङले भने, “१३ प्रतिशत भ्याट वा त्योभन्दा कम कर लगाएर भए पनि एकपटक यस्तो व्यवस्था गरौँ।”

तर अर्थमन्त्री पौडेलले भने यस्तो प्रस्ताव संवेदनशील भएको भन्दै असहमत जनाए। उनले नेपाल हाल अन्तर्राष्ट्रिय रूपमा आर्थिक निगरानीको सूची (ग्रे लिष्ट) मा रहेको अवस्थामा यस्ता छलफलले झनै समस्या उत्पन्न गर्न सक्ने बताएका छन्।

“हामी नेपाललाई ग्रे लिष्टबाट हटाउने प्रयासमा छौं। यस्ता संवेदनशील विषय संसदमा उठे भन्ने जानकारी बाहिर गएमा त्यसको नकारात्मक असर पर्न सक्छ,” मन्त्री पौडेलले स्पष्ट पारे, “यो समिति संसदकै सानो रूप हो। यस्ता विषयमा जिम्मेवार भएर छलफल गर्न आवश्यक छ, अन्यथा कालोसूचीमा पर्ने खतरा रहन्छ।”

तपाईको प्रतिक्रिया