ललितपुरमा सांसद जगदीश खरेलद्वारा सहिद विनोद महर्जनको परिवारसँग भेटघाट

ललितपुर — ललितपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व सञ्चारमन्त्री जगदीश खरेलले सहिद विनोद महर्जनको परिवारसँग भेटघाट गर्नुभएको छ।

मंगलबार अपराह्न करिब ४ बजे उहाँ ललितपुरको दुपाटटोल पुगेर ‘जेनजी’ सहिद विनोद महर्जनको परिवारलाई भेट्नुभएको हो। भेटघाटका क्रममा उहाँले सहिद महर्जनको योगदानको स्मरण गर्दै परिवारप्रति समवेदना व्यक्त गर्नुभएको थियो। साथै परिवारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका विषयमा पनि चासो व्यक्त गर्नुभएको बताइएको छ।

सो अवसरमा सांसद खरेलले ‘जेनजी’ सहिद विनोद महर्जनकी आमासँग आशीर्वाद लिँदै जनताले दिएको विश्वास र समर्थनलाई पूर्ण निष्ठाका साथ निर्वाह गर्दै संसदमा आफू प्रस्तुत हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो। साथै उहाँले ललितपुरको दुपाटटोलका स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफूलाई मतदान गरी जिताएकोमा धन्यवाद व्यक्त गर्दै आशीर्वाद लिनुभएको थियो।

जेनजी’ सहिद विनोद महर्जनकी दिदी बिना महर्जनले नेपालमा अब यस्ता घटनाहरू कसैलाई पनि नहोस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ। साथै उहाँले अब बन्ने सरकारले ‘जेनजी’ आन्दोलनका मागहरू पूरा गर्ने, देशको विकास र समृद्धिमा ध्यान दिने तथा युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

भेटघाटमा ललितपुर क्षेत्र नम्बर–१ का नवनिर्वाचित सांसद बुद्धरत्न महर्जन राष्ट्रिय स्वतन्त्र पार्टीका केही सदस्य तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

निर्वाचित प्रतिनिधिसभा सदस्य

तपाईको प्रतिक्रिया