सहकार्य कि अलग बाटो ? बालेन र कुलमान एक भएर देश विकास पार्टी अघि बढाउने ?

ललितपुर: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच ललितपुरको कुपन्डोलमा छलफल भइरहेको छ। बालेन शाहका निकट सहयोगी कुमार व्यञ्जनकारको निवासमा केही समयदेखि दुई नेताबीच भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ।

यसअघि पनि रवि लामिछाने र बालेन शाहबीच झण्डै छ घन्टा लामो छलफल भएको थियो। पछिल्ला दिनमा बालेन शाहले विभिन्न राजनीतिक नेतृत्वसँग संवादलाई तीव्र बनाएका छन्। यही क्रममा उनले आज बिहान ऊर्जा मन्त्री कुलमान घिसिङसँग समेत भेट गरेका थिए।

कुलमान घिसिङ र बालेन शाहबीच ‘देश विकास पार्टी’ मार्फत राजनीति अघि बढाउने विषयमा सहमति नजिक पुगेको बताइएको छ। यद्यपि घिसिङसँग सम्बन्धित उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको भए पनि अब दुवै जना देश विकास पार्टीमै सक्रिय हुने तयारीमा रहेको उनीहरूसँग नजिक रहेर काम गरिरहेका व्यक्तिहरूले बताएका छन्।

देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको पार्टी हो। यस पार्टीको अध्यक्ष सन्ध्या खनाल रहेकी छन् भने चुनाव चिह्न ‘लौरो’ रहेको छ। यही चिह्न प्रयोग गर्दै बालेन शाह २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका थिए।

बालेन शाह र कुलमान घिसिङबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ उम्मेदवार उठाउने विषयमा समेत छलफल भएको जनाइएको छ। सोहीअनुसार विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएर पुस १३ र १४ गतेभित्र निर्वाचन आयोगमा बन्दसूची बुझाउने तयारी भइरहेको स्रोतको दाबी छ।

मेयर बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य नयाँ दल तथा स्वतन्त्र व्यक्तिहरूसँग पनि संवाद गरिरहेका छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही, चिकित्सक डा. भगवान कोइराला तथा युवा अभियानसँग आबद्ध व्यक्तिहरूसँग समेत छलफल भएको बताइएको छ।

यसअघि रवि लामिछाने र बालेन शाहबीच सहकार्यको सम्भावनाबारे कुराकानी भए पनि ठोस सहमति बन्न नसकेको स्रोतले जनाएको छ। रास्वपाबाट स्पष्ट प्रस्ताव नआएपछि बालेन शाहले देश विकास पार्टीलाई केन्द्रमा राखेर राजनीतिक तयारी अघि बढाएको उनीनिकट व्यक्तिहरूको भनाइ छ।

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा बालेन शाहले आफ्नो तर्फबाट आवश्यक गृहकार्यलाई तीव्र बनाएका छन्। साथै आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार खोजी प्रक्रिया पनि अगाडि बढाइएको बताइएको छ।

तपाईको प्रतिक्रिया